टी-२० विश्वकपः अमेरिकालाई हराउँदै इङ्ग्ल्याण्ड विश्वकपको सेमिफाइनलमा

साविक विजेता इङ्ल्याण्ड टी-२० विश्वकप क्रिकेटको सेमिफाइनलमा प्रवेश गरेको छ ।

सुपर एटको आफ्नो अन्तिम खेलमा आयोजक अमेरिकालाई आज १० विकेटको फराकिलो अन्तरले हराउँदै इङ्ल्याण्डले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।

जारी विश्वकपमा सेमिफाइनल पुग्ने इङ्ल्याण्ड पहिलो टोली हो । समूह २ मा रहेको इङ्ल्याण्ड चार अंकसहित शीर्ष स्थानमा उक्लिएको छ ।

यो समूहमा दक्षिण अफ्रिका ४ अंकसहित दोस्रो स्थानमा छ भने वेस्ट इन्डिज २ अंकसहित तेस्रो स्थानमा छ ।

दक्षिण अफ्रिका र वेस्ट इन्डिजबीच सोमबार हुने खेलको विजेता सेमिफाइनलमा पुग्नेछ ।

ब्रिजटाउनमा ११५ रनको सामान्य लक्ष्य इङ्ग्ल्याण्डले ९.४ ओभरमा बिना कुनै क्षति पुरा गरेको थियो ।

इङ्ग्ल्याण्डको जितमा ओपनर जोस बटलरले ३८ बलमा ८३ रनको उत्कृष्ट इनिङ्स खेले । त्यसक्रममा उनले ७ छक्का र ६ चौका प्रहार गरे ।

उनले एकै ओभरमा पाँच छक्का प्रहार गरेका थिए । फिल सल्टले २५ रनको योगदान गरे ।

पहिले ब्याटिङ गरेको अमेरिका ६ बल अघि नै ११४ रन बनाएर अल आउट भएको थियो ।

इङ्ल्याण्डका क्रिस जोर्डनले ह्याट्रिकसहित ४ विकेट लिएपछि अमेरिका सस्तैमा प्याक भयो । जोर्डन विश्वकपमा ह्याट्रिक गर्ने इङ्ग्ल्याण्डका पहिलो बलर हुन् ।

पहिलो पटक विश्वकप खेलेको अमेरिकाले सुपर एटका तीनै खेल हारेको छ । तर, अमेरिकाले सुपर एटमा पुगेर इतिहास भने बनाएको छ ।

एजेन्सी

Comments

Back to top