एनसेल एपमा अब माछापुच्छ्रे बैंककाे प्लेटफर्ममार्फत भुक्तानी सुविधा

माछापुच्छ्रे बैंक लिमिटेड र एनसेलबीच डिजिटल प्लेटफर्ममार्फत सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता पत्रमा एनसेलका प्रमुख कार्यकारी अधिकृत जाब्बोर कायुमोभ र माछापुच्छ्रे बैंककाे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले गएकाे हप्ता एनसेल आइकन लैनचौरमा हस्ताक्षर गरेका थिए।

मोबाइलमा डेटा सकिएपछि ब्यालेन्स नकाटिने र अन्य सुविधा रहेको एनसेलको ‘सधैँ अन’ योजनाअन्तर्गत गरिएको यस सम्झौताअनुसार अब माछापुच्छ्रे बैंकमा खाता भएका एनसेलका ग्राहकले बैंकको मोबाइल बैकिङ एप 'एमबीएल एम–स्मार्ट' को चेक आउट सर्भिस प्रयोग गरी एनसेलको मोबाइल एप, रिटेलर्स एप, वेबसाइटमार्फत सजिलै ब्यालेन्स रिचार्जका सेवा सुविधा खरिदका लागि भुक्तानी गर्न सक्नेछन्। यसैगरी एनसेलका वितरक तथा खुद्रा बिक्रेताले पनि रिटेलर्स एपमार्फत सिधै माछापुच्छ्रे बैंककाे खातामा रहेको रकमबाट आफ्नो भर्चुअल फन्ड लोड गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकको डिजिटल यात्रालाई सहज बनाउँदै सधैँ अन रहन सहयोग गर्ने विश्वास एनसेल र माछापुच्छ्रे बैंकले लिएको छ । एनसेल एपमा अन्य सुविधा पनि रहेका छन् जसले ग्राहकलाई देशभित्र मात्र नभई देशबाहिर रोमिङमा रहँदा पनि सुविधा प्रदान गर्नेछ ।

एजेन्सी

Comments

Back to top