भोलि शुक्रबारदेखि प्रथम सहकारी रोजगार मेला

प्रथम सहकारी रोजगार मेला–२०८१ भोलि  (शुक्रबार) देखि हुने भएको छ । राष्ट्रिय सहकारी महासङ्घले बुधबार पत्रकार सम्मेलन गरी असार ७ देखि ९ गतेसम्म प्रथम सहकारी रोजगार मेला सञ्चालन गरिने जानकारी दिएको हो ।

महासङ्घकी अध्यक्ष ओमदेवी मल्लले सहकारी मार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको जानकारी दिइन् ।

दिनप्रतिदिन युवाहरु विदेश जानुपर्ने परिस्थिति अन्त्य गरी मुलुकभित्रै सहकारीको माध्यमबाट रोजगार बनाउने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ छ ।

उनले मेलाले मर्यादित रोजगारीका अवसर प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिन् । हाल नेपालमा ३१ हजार सहकारीमा एक लाखभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएको उनले जानकारी दिइन् ।

‘मर्यादित सहकारी व्यवसायका लागि युवा सङ्लग्नता’ भन्ने नाराका साथ हुन लागेको मेलामा उत्पादन तथा सेवाका सहकारीहरु र अन्य जनशक्ति खोज्न सहजता प्रदान गर्ने आयोजकले जनाएको छ ।

मेलामा नवप्रवर्तन र साना व्यवसायमार्फत स्वरोजगार गर्न चाहनेको लागि नेटवर्किङको कार्यसमेत हुनेछ ।

एजेन्सी

Comments

Back to top