साउदी अरेबियामा गर्मीका कारण एक सातामा ५७७ हज यात्रीको मृत्यु

साउदी अरेबियाको मक्कामा गर्मीका कारण जुन १२ देखि जुन १९ सम्म ५ सय ७७ हज यात्रीको मृत्यु भएको छ ।

जुन १७ मा मक्काको ग्रान्ड मस्जिदमा ५१.८ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको थियो । जुन यस वर्षको उच्च थियो ।

द गार्डियनको रिपोर्टका अनुसार मृत्यु हुनेमा ३ सय २३ जना इजिप्टका र ६० जना जोर्डनका नागरिक छन् । यसबाहेक इरान, इन्डोनेसिया र सेनेगलका हज यात्रीको पनि मृत्यु भएको छ ।

साउदी कूटनीतिज्ञका अनुसार अधिकांश मृत्यु गर्मीका कारण बिरामी परेका कारण भएको हो । गर्मीका कारण बिरामी परेका करिब २ हजार हजयात्रीको उपचार भइरहेको साउदी अरेबियाले जनाएको छ ।

साउदी अरेबियाका अधिकारीहरूका अनुसार मक्कामा जलवायु परिवर्तनको गहिरो असर परिरहेको छ । यहाँको औसत तापक्रम हरेक १० वर्षमा ०.४ डिग्री सेल्सियसले बढिरहेको छ ।

अघिल्लो वर्ष २ सय ४० हजयात्रीको मृत्यु भएको थियो । तीमध्ये अधिकांश इन्डोनेसियाका थिए ।

साउदीले सबै यात्रूलाई छाता प्रयोग गर्न सल्लाह दिएको छ । यस बाहेक उनीहरूलाई लगातार पानी पिउन र घामबाट बच्न भनिएको छ ।

यस वर्ष करिब १८ लाख हजयात्री हजका लागि आएका छन्। जसमध्ये १६ लाख अन्य देशका छन् ।

एजेन्सी

Comments

Back to top