शुक्रबारदेखि मेलम्ची खानेपानी बन्द हुने

मेलम्ची खानेपानी विकास समितिले पर्सि शुक्रवारदेखि काठमाण्डौमा पानी पठाउन बन्द गर्ने भएको छ । वर्षासँगै मेलम्ची नदीमा पानीको बहाब बढेकाले आयोजनामा क्षति पुग्न सक्ने जोखिमलाई ख्याल गरेर सुरुङको मूलद्वार बन्द गर्ने तयारी गरेको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिए ।

अहिले काठमाण्डौमा दैनिक झन्डै २० करोड लिटर मेलम्चीको पानी बितरण भइरहेकोमा अब रोकिने भएको छ। मेलम्ची खानेपानी आयोजना बन्द रहने अवधिसम्म वाग्मती सुधार आयोजनाअन्तर्गतको धाप ड्यामबाट पानी ल्याएर वितरण गर्नेगरी अधिकार सम्पन्न बागमती सभ्यता–एकीकृत विकास समितिसँग सहमति भएको कार्यकारी निर्देशक लामिछानेले जानकारी दिए ।

काठमाण्डौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जीवविक्रम रानाले उपत्यकामा मेलम्ची आयोजनाले खानेपानीले आपूर्ति व्यवस्थापनका साथै जमिनमुनिको पानीको सहतसमेत बढाएको बताए ।  

एजेन्सी

Comments

Back to top