युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनका दुई शर्त

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनसँगको युद्ध रोक्न दुई वटा सर्त राखेका छन् । युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट आफ्ना सेना फिर्ता लिनुपर्ने र युक्रेन नेटोमा सामेल नहुने ग्यारेन्टी गरेमा युद्ध रोकेर शान्ति वार्ता गर्न रुस तयार रहेको पुटिनले बताएका छन् ।

युक्रेनको आयोजनामा स्वीट्जरल्याण्डमा ९० देशका प्रतिनिधि सहभागी शान्ति शिखर सम्मेलन शुरु हुनै लाग्दा पुटिनले सर्तसहित युद्धविरामको प्रस्ताव अघि सारेका हुन् । रुसी राष्ट्रपति पुटिनले युक्रेनले डोनेट्स्क, लुहानस्क, खेरसन र जापोरिजियाबाट सबै सेना फिर्ता लिने र नाटोमा सामेल नहुने घोषणा गरेपछि रुसी सेना त्यहाँबाट फिर्ता हुन थाल्ने बताएका छन् ।

यस्तै युक्रेनले रुसी भाषा बोल्नेको अधिकार सुरक्षित गर्नुपर्ने पनि रुसी राष्ट्रपति पुटिनको सर्त रहेको छ । यस्तै युक्रेनको सहयोग गर्ने बहानामा रुसविरुद्ध लगाएका सबै अन्तर्राष्ट्रिय प्रतिबन्ध पनि हटाउनुपर्ने रुसले माग गरेको छ ।

स्वीट्जरल्याण्डमा आजदेखि शुरु हुने शिखर सम्मेलनमा युक्रेनको शान्ति मार्गको बारेमा छलफल हुनेछ । सम्मेलनमा रुसका प्रतिनिधिलाई बोलाइएको छैन । चीन, ब्राजिल र साउदी अरबका प्रतिनिधिले सम्मेलनमा भाग लिन अस्वीकार गरेका छन् । सम्मेलनमा लिइएका निर्णय मध्यस्थकर्तामार्फत रुसलाई बुझाउने खबरमा उल्लेख छ ।

एजेन्सी

Comments

Back to top