रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ गते

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आउँदो साउन १७ गते प्रारम्भ हुने भएको छ । अहिले मच्छिन्द्रनाथको रथ ललितपुरको थती टोलमा रोकिएको छ ।

पुल्चोकमा रथारोहण गरी शुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ साउन १७ गतेदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिए ।

शाहु शाक्यका अनुसार गएको वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्याएमा २० गते भोटोजात्रा हुने र यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुने उनले बताए ।

ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाण्डौ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि शुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा लगेर टुङ्ग्याइन्छ । जावालाखेल पुर्‍याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ।

यस वर्षको रथयात्राका क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताए।

रासस

Comments

Back to top