टी–२० विश्वकपमा भाेलि बिहान नेपाल र दक्षिण अफ्रिका खेल्दै

आईसीसी टी–२० विश्वकप क्रिकेटमा भोलि बिहान सवा ५ बजे नेपाल र दक्षिण अफ्रिका खेल्दैछन् । समूह ‘डी’ को यो खेल वेस्ट इन्डिजको किङ्ग्सटाउनमा हुँदैछ ।

दक्षिण अफ्रिका ३ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । दक्षिण अफ्रिका सुपर–८ मा पुगिसकेको छ । नेपाल २ खेलमा १ अङ्कसहित चौथो स्थानमा छ । ‘सुपर–८’ मा पुग्ने सम्भावना कायमै राख्न नेपाललाई भोलिको खेल जित्नैपर्ने दबाब छ ।

नेपाल पहिलो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको थियो । नेपालले दिएको १ सय ७ रनको लक्ष्य नेदरल्यान्ड्सले ८ बल बाँकी छँदा ४ विकेट गुमाएर भेटाएको थियो । यस्तै श्रीलङ्कासँगको दोस्रो खेल वर्षाले रद्द भएपछि अङ्क बाँडिएको थियो ।

यस्तै दक्षिण अफ्रिकाले पहिलो खेलमा श्रीलङ्कालाई ६ विकेटले हराएको थियो । यस्तै दक्षिण अफ्रिकाले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई ४ विकेट र तेस्राे खेलमा बङ्गलादेशलाई ४ रनले हराएकाे थियाे ।

एजेन्सी

Comments

Back to top