तीन सय यात्रुसहित साढे नौ घण्टा आकाशमा रहेपछि पुनः लण्डन फर्कियो ब्रिटिश एयरवेजको विमान
ब्रिटिश एयरवेजको एउटा उडान साढे ९ घण्टाको यात्रापछि त्यही ठाउँमा फर्किएको छ । न्यूयोर्क पोस्टका अनुसार बोइङको ७८७–९ ड्रिमलाइनर उडान लण्डनबाट टेक्सास जाँदै थियो ।
तर क्यानाडाको हवाई क्षेत्रमा पुग्दा विमानले केही प्राविधिक समस्याको सामना गर्यो । त्यसपछि उक्त उडानलाई लण्डन फर्काइएको थियो ।
विमानमा ३ सय यात्रु सवार थिए र सबै सकुशल छन् । यो उडान सोमबार (जून १०) बिहान ९स्२७ मा लन्डनको हिथ्रो विमानस्थलबाट प्रस्थान गरेको थियो ।
त्यसपछि ७७७९ किलोमिटरको यात्रा गरी साढे ९ घन्टा आकाशमा बसेपछि साँझ ६ बजेर ५४ मिनेटमा विमान लण्डन फर्किएको थियो ।
सामान्यतया उडानले लन्डनबाट टेक्सास पुग्न १० घण्टा १५ मिनेट लाग्छ । ब्रिटिश एयरवेजले विमानमा सामान्य प्राविधिक त्रुटि भएको जनाएको छ ।
यसलाई मर्मत गर्ने सुविधा लन्डनमा कम्पनीको सुविधामा मात्र उपलब्ध थियो, जसका कारण यसलाई बेलायत फिर्ता पठाइएको थियो ।
लन्डन फर्कने क्रममा चालक दलले आतंकित यात्रुहरूलाई सुरक्षा त्रुटिका कारण विमान फिर्ता ल्याइएको बताए ।
ब्रिटिस एयरवेजले एक विज्ञप्ति जारी गर्दै यात्रुहरुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेको छ । डेली मेल रिपोर्टका अनुसार एयरलाइन्सले सबै यात्रुहरूलाई टेक्सास जाने अर्को उडानमा सारेको थियो ।
अघिल्लो हप्ता, ब्रिटिश एयरवेजको विमानले हल्याण्डमा आपतकालीन अवतरण गरेको थियो । वास्तवमा, उडान भरेको करिब ९० मिनेटपछि उडानको ककपिट अचानक धुवाँले भरिएको थियो । उक्त विमान लण्डनबाट ओस्लो जाँदै थियो ।
धुवाँ देखिएपछि क्याप्टेनले एयर ट्राफिक कन्ट्रोललाई आकस्मिक अवतरणका लागि सन्देश पठाए । त्यसपछि विमान एम्स्टर्डममा अवतरण भयो ।
१९० यात्रु विमानस्थलमा अवतरण हुनेबित्तिकै धेरै दमकल र आकस्मिक सवारी साधन त्यहाँ पुगेका थिए । यसपछि आतंकित यात्रुहरूलाई विमानबाट बाहिर निकालेर सुरक्षित स्थानमा पठाइएको थियो।
एजेन्सी
Comments