अष्ट्रेलिया ‘सुपर–८’ मा प्रवेश, नामिबिया ९ विकेटले पराजित
टी–२० विश्वकप क्रिकेटमा अष्ट्रेलियाले लगातार तेस्रो जित निकालेको छ । अस्ट्रेलियाले नामिबियालाई नौ विकेटले हराएको छ ।
जितसँगै अस्ट्रेलिया नवौँ विश्वकपको ‘सुपर–८’ चरणमा पुग्ने दोस्रो टोली पनि बनेको छ । बिहान भएको खेलमा अष्ट्रेलियाले नामिबियालाई एक विकेटको क्षतिमा ५ ओभर ४ बलमै लक्ष्य पुरा गरेको हो ।
७३ रनको झिनो लक्ष्य भेट्टाउने क्रममा अष्ट्रेलियाका ट्रेभिस हेडले ३४ तथा मिचेल मार्स १८ रनमा नटआउट रहे । ओपनर डेभिड वार्नर २० रन बनाएर आउट भए । त्यसअघि टस हारेर ब्याटिङ गरेको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रनमात्र जोडेको थियो ।
नामिबियाका जेराड इरामुसको ३६ रन नै सर्वाधिक बन्यो । यस्तै ओपनर माइकल भानले १० रन बनाउनु बाहेक अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।
अष्ट्रेलियाका एडम जाम्पाले चार विकेट लिए । चार ओभर बलिङ गरेका जाम्पाले १२ रन खर्चेर ४ विकेट लिएका थिए ।
समूह बीमा रहेको अस्ट्रेलिया लगातार तीन खेल जित्दै सुपर ८ मा प्रवेश गरेको छ ।
समान तीन खेल खेलेको स्कटल्याण्डको पाँच अंक छ । नामिबियाले भने तीन खेलमा एकमा मात्र जीत हासिल गरेको छ ।
यसअघि, नेपाल र श्रीलंकाले अंक बाँडेसँगै दक्षिण अफ्रिका नवौं विश्वकपको सुपर ८ मा प्रवेश गर्ने पहिलो टोली बनिसकेको छ ।
एजेन्सी
Comments