१० महिनामा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रियाे
चालू आर्थिक वर्ष २०८०/८१ को १० महिनामा नेपालमा झन्डै १२ खर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।
नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको १० महिनाको वित्तीय विवरणअनुसार रेमिट्यान्स १९ दशमलव २ प्रतिशतले बढेर ११ खर्ब ९८ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । तर पोहोरको तुलनामा यो वर्षको १० महिनामा वृद्धिदर भने ४ प्रतिशतले घटेको छ ।
यस्तै अमेरिकी डलरमा रेमिट्यान्स १७ दशमलव १ प्रतिशतले बढेर ९ अर्ब २ करोड डलर पुगेको छ ।
रेमिट्यान्स बढे पनि श्रम स्वीकृति लिनेको सङ्ख्यामा कमी आएको छ । साउनदेखि वैशाखसम्म वैदेशिक रोजगारीका लागि ३ लाख ७४ हजार ८ सय जनाले अन्तिम श्रम स्वीकृति लिएका छन् । पोहोर ४ लाख २१ हजार जनाले अन्तिम श्रम स्वीकृति लिएका थिए । यस्तै पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या २ लाख ३७ हजार ८ सय ९३ जना रहेको छ ।
एजेन्सी
Comments