यथार्थमा टेकेर बजेट ल्याएका र कार्यान्वयन हुने अर्थमन्त्री पुनको दाबी
अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधि सभामा पेश भएको आउँदो आर्थिक वर्षको बजेटमाथि उठेका प्रश्नको जवाफ दिनुभएको छ । यही जेठ १५ गते संसदमा पेश भएको बजेटमाथि विभिन्न दलका सांसदले जिज्ञासा र प्रश्न सोधेका थिए ।
आज प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वर्षमान पुनले विगतका वर्षमा गरिएका आर्थिक सुधारलाई बढावा दिने, उत्पादन र रोजगारी वृद्धि गर्ने लक्ष्यका साथ सरकारले आउँदो आर्थिक वर्षलाई आर्थिक सुधारको वर्षको घोषणा गरेकाे बताए । उनले विगतमा भन्दा पुँजीगत खर्चमा हुने वृद्धि हुने गरी लक्ष्य तय गरिएको, लगानीयोग्य रकमको उपलब्धतालगायतका कारणले छ प्रतिशत बराबरको आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको बताए ।
पुनले बजेटको आकार महत्त्वाकाङ्क्षी नभई यथार्थ रहेको उल्लेख गर्दै बजेटको आकारका सम्बन्धमा पूर्वाग्रही भएर टिप्पणी आएको भन्दै गुनासो गरे । सूचना प्रविधिको क्षेत्रमा काम गर्ने जनशक्तिको वृद्धि र लगानीका कारण यस क्षेत्रबाट रोजगारीको अभिवृद्धि हुने उनको भनाइ छ । आउँदो वर्ष राजस्व परिचालनलाई व्यवस्थित र अनुमानयोग्य बनाउन सरकारले प्रयत्न गरेको र करका दरमा सामान्य हेरफेर गरिएको अर्थमन्त्रीले जानकारी दिए ।
एजेन्सी
Comments