दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलर सहयोग गर्ने

दक्षिण कोरियाले चिप्स उद्योगलाई प्रोत्साहन गर्न १९ अर्ब डलरको योजना सार्वजनिक गरेको छ । राष्ट्रपति युन सुक योलले देशको महत्वपूर्ण सेमीकन्डक्टर उद्योगका लागि १९ अर्ब डलरको सहयोग योजना घोषणा गरेका हन् । 

दक्षिण कोरियामा सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सजस्ता विश्वमा धेरै मेमोरी कार्ड र चिप्स उत्पादन गर्ने ख्यातिप्राप्त कम्पनीहरू रहेका छन् । दक्षिण कोरियाले गत वर्ष चार खर्ब ५६ अर्ब अमेरिकी डलरको निजी लगानी प्रयोग गरेर विश्वको सबैभन्दा ठूलो चिप्स सेन्टर निर्माण गर्ने प्रतिज्ञा गरेको थियो ।

राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्ति अनुसार नयाँ कार्यक्रमबारे राष्ट्रपति युनले भने, “हामीले २६ ट्रिलियन कोरियन वोन बराबरको सेमीकन्डक्टर उद्योगको लागि एक व्यापक सहयोग कार्यक्रम बनाएका छौँ । यसमा वित्तीय, पूर्वाधार, अनुसन्धान र विकास, साथै साना र मझौला आकारका कम्पनीहरूको लागि सहयोग समावेश छ ।”

यो प्याकेजमा यसै महिनाको सुरुमा घोषणा गरिएको सात अर्ब अमेरिकी डलर लगानी पनि समावेश छ ।

युनले सियोलले रोजगारी बढाउने र उद्योगमा थप प्रतिभा आकर्षित गर्ने आशामा चिप लगानीका लागि कर लाभ विस्तार गर्ने पनि बताए । 

कार्यक्रम अनुसार सियोलको बाहिर भागमा ‘मेगा चिप्स क्लस्टर’ पनि निर्माण गरिरहेको छ । कोरिया सरकारले यो विश्वको सबैभन्दा ठूलो सेमीकन्डक्टर बनाउने उद्योग हुने र लाखौं रोजगारी सिर्जना गर्ने दावी गरेको छ ।

एजेन्सी

Comments

Back to top