जीवन विकास लघुवित्तको घट्यो प्रतिशेयर आम्दानी

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा लघुवित्तले २६ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.०७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३२ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी घटेको इम्पेरमेन्ट चार्ज बढेका कारण लघुवित्तको खुद नाफा घट्न पुगेको हो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ३.२१ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी ५१.१८ प्रतिशत घटेको छ। त्यस्तै, लघुवित्तको कुल सञ्चालन आम्दानी समीक्षा अवधिमा १.४६ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १९.०४ प्रतिशत घटेको छ। सो अवधिमा लघुवित्तको इम्पेरमेन्ट चार्ज ३१ करोड ७२ लाख रुपैयाँबाट बढेर ४६ करोड ७३ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी १० रुपैयाँ ७७ पैसा घटेर २६ रुपैयाँ ३७ पैसामा झरेको छ। चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २४३ रुपैयाँ ५ पैसा रहेको छ।

चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६५ करोड ५६ लाख रुपैयाँ रहेको छ। त्यस्तै, लघुवित्तको वितरणयोग्य प्रतिशेयर आम्दानी ४८ रुपैयाँ ६५ पैसा रहेको छ।

एजेन्सी

 

Comments

Back to top