कोरोनापछि माथिल्लो त्रिशूली ‘३ बी’ जलविद्युत आयोजनाले गति लियो

कोरोना कहर, निर्माण व्यवसायीको ढिलाइका कारण अपेक्षित प्रगति हासिल गर्न नसेकेको माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत आयोजनाले पछिल्ला दिनमा उल्लेख्य प्रगति गरेको छ । जनताको जलविद्युत कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माण भइरहेको कूल ३७ मेगावाट जडित क्षमताको सो आयोजनाको कामले गति लिएको हो ।

कोभिड–१९ महामारीको चपेटामा परेको माथिल्लो त्रिशूली ‘३बी’ जलविद्युत आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ ।

नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो साता आफ्नो घर गएका चिनियाँ कामदारहरु कोभिड–१९ का कारण फर्कन र चीनबाट उपकरण तथा सामग्री ल्याउन नसक्दा पूर्ण रुपमा काम भइरहेको आयोजनाको निर्माण करिब १५ महिना ठप्प प्रायः भएको थियो ।

आयोजनाको निर्माण २०७७ को चैतबाट मात्र पुनः सुरु भएकामा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले लगभग तीन हप्ता काम पुनः प्रभावित भएको थियो ।

साथै, मुख्य सुरुङमा पूर्वअनुमानभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युतगृह लगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले तीन हजार ८०५ मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये दुई हजार ८६५ मिटर खनिएको बताए ।

“सतही विद्युत गृह खन्ने कार्य सम्पन्न भई संरचनाहरुको कङ्क्रिटिङ सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरुको जडान गर्दै पहिलो चरणको कङ्क्रिटिङ आउँदो जेठसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ”, गौतमले भने ।

चीनसँगका भन्सार नाकाहरु अझै पूर्ण रुपमा नखुल्दा ठेकेदार कम्पनीले खरिद गरिसकेका तथा खरिद आदेश दिई उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामग्रीहरु ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको छैन । केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरु ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासास्थित महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी आएको आयोजनाले जनाएको छ ।

इन्जिनियरिङ, खरिद तथा निर्माण (इपिसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २९ माघ २०७४ मा ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्ने छ ।

नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ‘३ए’ जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ‘३बी’ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । माथिल्लो त्रिशूली ‘३ए’ को विद्युतगृहबाट विद्युत उत्पादनपश्चात् निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ । उत्पादित विद्युत हाल सञ्चालनमा रहेको समुन्द्रटार–त्रिशूली ‘३बी’ हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुनेछ ।

सेयरबापतको बाँकी रकम छिट्टै सङ्कलन

आयोजनाको प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडले जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत निष्कासन गरेको शेयरबापतको बाँकी रकम छिट्टै सङ्कलन गर्ने भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरी प्रतिशेयर रु १०० अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने रु १० मात्र सङ्कलन गरेको थियो । जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ शेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका सेयरधनीले लिन कबुल गरेको शेयर बापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ ।

“कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकाले सेयरधनीले चुक्ता गर्न बाँकी रु ९० सङ्कलनका लागि छिट्टै आह्वान गरिनेछ । साथै सर्वसाधारण समूहमा रहेका अन्य शेयर पनि निष्कासन प्रक्रिया अघि बढाइने छ”, प्रबन्ध–सञ्चालक गौतमले भने ।

आयोजनाका प्रवद्र्धक त्रिशूली जलविद्युत कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०-३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच, रसुवा तथा नुवाकोटवासीको १०, सर्वसाधारणको १५ र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत सेयर रहनेछ ।

अनुमानित निर्माण लागत रु सात अर्ब ४४ करोड रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज रु ७८ करोड छ । आयोजनामा ३० प्रतिशत इक्विटी (रु दुई अर्ब ४७ करोड) र ७० प्रतिशत ऋण (रु पाँच अर्ब ७६ करोड) बाट लगानी जुटाइएको छ ।

आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ गतेसम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ गतेसम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत उत्पादन हुने छ ।

स्रोत: रासस

Comments

Back to top