इटहरीको कामधेनु दुग्ध सहकारीको काठमाडौँ उपत्यकामा पनि सेवा सुरू

सुनसरीको इटहरीमा रहेको कामधेनु दुग्ध विकास सहकारी संस्थाले काठमाडौँ उपत्यकासहितका बजारमा दुग्धजन्य उत्पादनहरूको बिक्री वितरण सुरु गरेको छ। संस्थामार्फत उत्पादन हुँदै आएको नौनी घ्यू, चिज, छुर्पी, टेबल बटर, पनिर, खुवा लगायत मिठाइका परिकारहरू उपत्यकाका शहरहरूमा बजारीकरण सुरु गरेको हो। 

झन्डै २४ वर्षअघि स्थापना भएको कामधेनुले पूर्वी नेपालका बजारहरूमा सहज पहुँच विस्तार गरेपछि उपत्यका केन्द्रित व्यापार थालेको अध्यक्ष यादप ढकालले बताए। उनका अनुसार बजारीकरणको पहिलो चरणमा काठमाडौँको चाबहिलमा शीत भण्डार स्थापना गरिएको छ। 

पाँच टन क्षमता रहेको भण्डारमा दुग्धजन्य सामग्रीहरू स्टोर गरी काठमाडौँ, भक्तपुर,ललितपुर सहित काभ्रेपलान्चोकका बजारमा बिक्री वितरण गर्दै आएको संस्थाका बजार प्रमुख नवराज नेपालले जानकारी दिए।

कामधेनुले यस आर्थिक वर्ष भित्रमै उपत्यकाका २० मुख्य बजारहरूमा बिक्री केन्द्र खोल्न लागेको बजार प्रमुख नेपालले बताए। उनले उपभोक्ताले गुणस्तरीय दुग्ध पदार्थहरूको माग अत्यधिक गरिरहेको अवस्थामा उपत्यकामा आइसकेपछि थप हौसला मिलेको दाबी गरे। 

इटहरी उपमहानगरपालिका २० स्थित तरहरा प्रधान कार्यालय रहेको कामधेनुमा प्रत्यक्ष रूपमा पूर्वका  सुनसरी ,मोरङ, झापा, धनकुटा, तेह्रथुम लगायत जिल्लाका एघार हजार कृषकहरू आबद्ध रहेको कम्पनीले जनाएको छ।

एजेन्सी

Comments

Back to top