कतारका अमिर पहिलोपटक नेपाल भ्रमणमा आउँदै

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउँदैछन् । नेपालको दुईदिने औपचारिक भ्रमणका क्रममा उनी मंगलबार काठमाडौं आउन लागेका हुन् ।

अमिरको यो भ्रमणबाट कतार र नेपालबीचको आत्मीय सम्बन्ध अझ सुमधुर हुनुका साथै पारस्परिक सहयोग एवं सहकार्यका क्षेत्र विस्तारमा मद्दत पुग्ने नेपालका लागि कतारका राजदूत मिसाल बिन मोहम्मद अल अन्सारीले बताए ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आज निस्किने तथा त्यस क्रममा उनले फिलिपिन्स, बङ्गलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले जानकारी दिए ।

राजदूत अल अन्सारीका अनुसार अमिर अल थानीले तीनवटै देशका उच्च नेतृत्वसँग पारस्परिक चासो र सहयोग अभिवृद्धिमा केन्द्रित रहेर भेटवार्ता गर्नेछन् । कतारी प्रतिनिधिमण्डलका नेता अमिरको उपस्थितिमा विभिन्न क्षेत्रमा द्विपक्षीय सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी सम्झौता र सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम छ ।

कतारका अमिरबाट पहिलोपटक यो भ्रमण हुन लागेको हो । भ्रमणका क्रममा दुई देशबीचको श्रम सम्झौतालाई परिस्कृत गर्ने लगायत विषयलाई उच्च प्राथमिकतामा राखिएको बताइएको छ ।

एजेन्सी

Comments

Back to top