बङ्गलादेशमा तातोले तोड्यो रेकर्ड

बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो महिना रहेको बताएको छ । दक्षिण एसियाली यो मुलुक र धेरै क्षेत्रले अझै पनि निस्सासिँदो गर्मीको सामना गरिरहेका छन् ।

जलवायु परिवर्तनका कारण गर्मीको लहर लामो, थप बारम्बार र थप तीव्र हुँदै गएको बृहत् वैज्ञानिक अनुसन्धानबाट पत्ता लागेको छ । अप्रिलमा प्रचण्ड गर्मीका कारण बङ्गलादेश सरकारले मुलुकभर विद्यालय बन्द गर्नुपर्यो । यसबाट करिब तीन करोड २० लाख विद्यार्थी घरमै रहे । 

“यो वर्ष लुले देशका करिब ८० प्रतिशत भागलाई समेटेको छ, हामीले यसअघि कहिले पनि यति तीव्र र व्यापक लु देखेका थिएनौँ”, बङ्गलादेश मौसम विज्ञान विभागका वरिष्ठ पूर्वानुमानकर्ता मुहम्मद अबु कलाम मल्लिकले भने, “सन् १९४८ मा मुुलुकमा तातो दिन र क्षेत्र समेट्ने मामिलाको रेकर्ड सुरु भएपछि गत अप्रिल महिना बङ्गलादेशमा सबैभन्दा गर्मी महिना थियो ।”

उनका अनुसार बङ्गलादेश वरपरका मौसम केन्द्रहरूले सन् २०१० सम्मको ३० वर्षको अवधिमा अप्रिलको औसत दैनिक तापक्रम ३३ दशमलव दुई डिग्री सेल्सियसको तुलनामा यस वर्षको अप्रिलमा दुईदेखि आठ डिग्रीको बीचमा अधिक तातो रहेको रेकर्ड गरेका छन् । 

एजेन्सी

Comments

Back to top