१३ लाख व्याज अनुदान फिर्ता गर्दै युवा स्वरोजगार कोष
कर्णाली वित्तीय सम्मेलनमार्फत युवा स्वरोजगार कोषले १३ लाख रुपैयाँ भन्दा बढी व्याज अनुदान फिर्ता गर्ने भएको छ । मिडिया इन्टरनेशनलले बिहीबारदेखि कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गर्न लागेको दुई दिने ‘कर्णाली प्रदेशमा वित्तीय सम्मेलन तथा सूचना प्रदर्शनी’ मार्फत कोषले उक्त रकम फिर्ता गर्न लागेको हो ।
कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले ७० जना भन्दा बढी सफल उद्यमीहरुलाई उक्त व्याज अनुदान फिर्ता गर्ने बताए । उनका अनुसार रकम फिर्ता गर्ने कार्यक्रम शुक्रबार रहेको छ ।
बैंकिङ खबरसँगको कुराकानीमा उनले भने, “हामीले कोअपरेटिभ संस्थामार्फत व्यवसायीहरुलाई स्वरोजगार सिर्जना गर्छौ । त्यो लगानी गरेर राम्रोसँग काम गरेर कोषलाई रकम फिर्ता गर्छन् । त्यो फिर्ता गरेको रकममध्येबाट ६० प्रतिशत रकम हामीले फेरि उहाँहरुलाई फिर्ता गर्छौं । उहाँहरुले तिरेको व्याजबाट ६० प्रतिशत व्याज फिर्ता गर्ने हो । उदाहरणका रुपमा १० रुपैया तिर्नुभएको छ भने ६ रुपैयाँ व्याज हामीले उहाँहरुलाई भुक्तानी दिन्छौं ।”
कोषले विगतदेखि नै व्याज अनुदान वितरण गर्दै आएको छ । उनले भने, “हामीले कर्णाली प्रदेश वित्तीय सम्मेलन कार्यक्रममै शुक्रबार १३ लाख रुपैयाँ भन्दा बढी फिर्ता गर्ने कार्यक्रम राखेका छौं ।”
यता कर्णाली प्रदेशमा पहिलोपटक हुन लागेको उक्त सम्मेलनको तयार पूरा भएको आयोजक मिडिया इन्टरनेशलले जनाएको छ । विगत ७ वर्षदेखि देशव्यापी रुपमा संचालित ‘वित्तीय जागरण : राष्ट्रिय अभियान‘ले कर्णाली प्रदेशमा पहिलोपटक कार्यक्रम आयोजना गर्न लागेको यस कार्यक्रमको तयारी पूरा भएको कार्यक्रम संयोजक माधव निर्दोषले जानकारी दिए ।
विगतमा देशका विभिन्न ठाउँमा संचालन हुँदै आएको उक्त कार्यक्रमलाई विशेषगरी वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
मूलतः एउटै छानामुनिबाट कर्णाली प्रदेशको विकास र उद्यमशीलताका लागि कर्णाली प्रदेशका उद्यमी, व्यवसायी, स्थानीय जनप्रतिनिधिहरु, बैंकर, तथा उद्यमशीलतामा लाग्न चाहाने आम व्यक्तिलाई एकै ठाउँमा सहभागि गराई दुईदिनसम्म संचालन हुनेगरी विशेष कार्यक्रम आयोजना गर्नु आवश्यक ठानी यो कार्यक्रम तर्जुमा गरिएको हो । विशेषगरी यस कार्यक्रम मार्फत वित्तीय साक्षरता, उद्यमशीलता र डिजिटल अर्थतन्त्र विकासको रुपमा अघि बढाउने लक्ष्य राखिएको छ ।
बैंकिङ सूचना अभावमा बैंकिङ क्षेत्रले गर्ने कामबारे समेत कतिपय नेपालीलाई जानकारी छैन । बैंकिङ क्षेत्रबाट हुने लगानीका विधि वा बैंकिङ क्षेत्रले दिने कर्जा र ब्याजबारे समेत थाहा नहुँदा बैंकबारे नागरिक अनभिज्ञ छन् । यसर्थ, बैंकिङ सूचनाप्रवाह गर्नु तथा आमनागरिकको बैंकिङमा पहुँच बढाउनु र उनीहरूलाई बैंकबाटै कर्जा लिएर उद्यमशीलताको विकास गर्न योग्य तुल्याउनु यस कार्यक्रमको मुख्य उदेश्य रहेको छ ।
Comments