राष्ट्र बैंकले प्रयाप्त लगाम नलगाउँदा बजारमा तरलता अभाव: पूर्वगभर्नर चिरञ्जीवि नेपाल

नेपाल नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा.चिरञ्जीवि नेपालले मुलुकको अर्थतन्त्र थप चुनौतीपूर्ण अवस्थामा पुगेको बताएका छन्। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत अर्थतन्त्र सन्तुलनमा राख्ने प्रयास गरे पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा थप चुनौतीपूर्ण देखिएको उनले बताए।

डा. नेपालले चालु आर्थिक वर्षको सुरुवातदेखि रेमिट्यान्स लगाताररुपमा घट्दै जाँदा विदेशी मुद्रा सञ्चितिमा प्रभाव परेकाले अर्थतन्त्र थप चुनौतीपूर्ण स्थितिमा पुगेको बताएका हुन्। सरकारले अर्थतन्त्र सहज बनाउनका लागि तत्काल विदेशी सहयोग अनुदानको लागि पहल गर्नुपर्ने नेपालको भनाइ छ।

सरकारले चालु आर्थिक वर्षमा ७ प्रतिशत आर्थिक वृद्धिदर हुने लक्ष्य राखे पनि पूरा हुन नसक्ने पूर्वगभर्नर नेपालको दाबी छ। उनले अहिलेकै अवस्थामा अर्थतन्त्र चल्ने हो भने राजश्व संकलनको लक्ष्यसमेत पूरा नहुने बताए। नेपालले राष्ट्र बैंकसँग मुलुकमा ६ महिनाका लागि मात्रै वस्तु आयात धान्न सक्ने सञ्चिति रहेको जानकारी दिए।

अन्तर्राष्ट्रिय मुद्रा कोषले इमर्जिङ अर्थतन्त्रको लागि ६ महिनाको आयात धान्न सक्ने विदेशी सञ्चिति गर्ने बताएको उनको भनाइ छ। त्यस्तै पूर्वगभर्नर डा.नेपालले सरकारले राजश्व संकलन गरेर ढुकुटीमा थन्क्याउने तर खर्च नगर्ने प्रवृत्तिले बैंकहरुमा तरलता अभाव भएको उल्लेख गरे। उनले विश्वका कुनै पनि मुलुकमा सरकारले राजश्व उठाएर राष्ट्र बैंकमा थुपारेर राख्ने प्रचलन नभएको बताए।

बैंकहरुबाट हुने कर्जा विस्तारमा नेपाल राष्ट्र बैंकले लगाम लगाउन नसक्दा बजारमा तरलता अभाव भएको उनको भनाइ छ । पूर्वगभर्नर नेपालले रुस र युक्रेनबीचको तनावले नेपालमा पेट्रोलियम पदार्थ तथा खाने तेलको मूल्य अझै वृद्धि हुनसक्ने बताए। उनले पेट्रोलियम पदार्थ तथा खाने तेलको सहज आपूर्तिको लागि समयमा नै आपूर्ति गरेर भण्डारण गर्न सरकारलाई सुझाव दिए।

Comments

Back to top