उच्च तहका रुसी कमाण्डरविरुद्ध पक्राउ पुर्जी जारी

अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) ले युक्रेनमा युद्ध अपराध गरेको आरोपमा उच्च तहका रुसी कमाण्डरहरुविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। आईसीसीले  सेनाका उच्च अधिकारी सर्गेई कोबिलाश र नौसेनाका उच्च अधिकारी भिक्टर सोकोलोभलाई पक्राउ पुर्जी जारी गरेको बीबीसीले जनाएको छ ।

उनीहरुलाई २०२२ अक्टोबर  र मार्च २०२३ को बीचमा युक्रेनको एक विद्युतीय पूर्वाधारमा उनीहरुको नेतृत्वमा रहेको सेनाको टोलीले मिसाइल आक्रमण गरेको आरोप लगाइएको खबरमा उल्लेख छ । युक्रेन युद्धसँग सम्बन्धित रूसी अधिकारीहरूको लागि यो दोस्रो चरणको पक्राउ पुर्जी जारी भएको हो।

यसअघि युक्रेनमा युद्ध अपराध गरेको आरोपमा राष्ट्रपति भ्लादिमिर पुटिन र उनका बालअधिकार दूतका लागि पक्राउ पुर्जी जारी गरिएको थियो । एजेन्सी

Comments

Back to top