कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लियो
नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
मंगलबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उपसभापति धनराज गुरुङले बताए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै गुरुङले भने, ‘पुष्पकमल दाहाल प्रचण्डलाई हामीले दिएको समर्थन फिर्ता लिने निर्णय भएको छ ।’
प्रधानमन्त्री प्रचण्डले सोमबार नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति गर्दै कांग्रेसका सहित सबै दलबाट बनेका मन्त्रीहरुलाई बर्खास्त गरेर नयाँ मन्त्रिपरिषद बनाएका छन् ।
सरकारलाई दिएको समर्थन फिर्ता लिने र सदनमा सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने निर्णय भएको कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महतले जानकारी दिए। प्रधानमन्त्रीको निर्णयले मुलुकलाई थप अस्थीरता तर्फ लगेको र अर्थतन्त्रलाई पनि अप्ठेरो अवस्थामा धकेलेको बैठकको निष्कर्ष रहेको उनले बताए ।
उनले कांग्रेससँगको गठबन्धन तोड्दा प्रधानमन्त्रीले लगाएका आरोपहरु कपोकल्पीत भएको जिकिर गरे । गठबन्धन तोड्ने प्रधानमन्त्रीको निर्णय निर्वाचनका बेला जनतासंग गरेका प्रतिवद्धता विपरित रहेको उनको भनाइ छ ।
Comments