गठबन्धनमा सहभागी हुन माधव नेपाललाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा सहभागी हुन नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग प्रस्ताव राखेका छन् । हिजो बेलुका अध्यक्ष नेपालको निवास कोटेश्वरमै पुगेर प्रचण्डले सत्ता साझेदारीको प्रस्ताव गरेका हुन् ।

रुघाखोकीले बिरामी नेपाललाई भेट्न भनेर प्रचण्ड पार्टीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहित उनको निवास पुगेका थिए । प्रचण्डले गठबन्धनमा आउन प्रस्ताव गरे पनि अध्यक्ष नेपालले पार्टीमा छलफल नगरी निर्णय दिन नसक्ने जवाफ दिएका छन् । 

उनले पछिल्लो राजनीतिक घटनाक्रममा आफ्नो पार्टीलाई निक्कै उपेक्षा गरिएको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए । फेरिएको सत्ता गठबन्धनले नेता नेपाललाई निक्कै अप्ठेरो पारेको छ ।

माओवादी एकीकृत समाजवादीलाई सहकार्यमा लैजाने पक्षमा भए पनि एमाले अहिलेसम्म सकारात्मक देखिएको छैन । पार्टी फुटेदेखि नै नेता नेपाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीचको सम्बन्ध बिग्रिएको छ।

Comments

Back to top