अफगानिस्तानमा हिमपातका कारण १५ जनाको ज्यान गयो
अफगानिस्तानका विभिन्न प्रान्तमा बितेको तीन दिनयता परेको हिमपातका कारण १५ जनाको ज्यान गएको छ । हिमपातका कारण ३० जना घाइते भएका एएनआईले जनाएको छ । भर्खरैको हिमपातका कारण झन्डै १० हजार पुशचौपाया मरेका खबरमा उल्लेख छ ।
हिमपातका कारण धेरै सडकहरू बन्द भएका र पशुचौपाया भोकभोकै रहेकाले स्थानीयवासीले तत्काल सरकारी सहयोगका लागि आग्रह गरेका छन्। यसैबीच अफगानिस्तानले प्राकृतिक विपत्तिका कारण विशेषगरी पशुधनीहरूलाई भएको क्षतिलाई सम्बोधन गर्न विभिन्न मन्त्रालयहरू सम्मिलित एक समिति गठन गर्ने घोषणा गरेको छ ।
कृषि, सिँचाइ तथा पशुपक्षी मन्त्रालयका लागि तालिबान प्रशासनका प्रवक्ता मिसबाहुद्दीन मुस्तैनले सबै प्रान्तमा गठन भएका समितिहरूले उद्धारका द्रूत प्रतिक्रियाबारे छलफल गरिरहेको बताए । बन्द सडक खुलाउन, प्रभावित समुदायलाई खाद्यान्न वितरण गर्न र बाक्लो हिमपातका कारण अलपत्र परेकाहरूलाई उद्धार गर्न यी समितिहरू लागिपरेका खबरमा उल्लेख छ ।
Comments