सर्वोत्तम सिमेन्टले आजदेखि आइपीओ विक्री गर्दै

सर्वोत्तम सिमेन्ट लिमिटेडले आज फागुन १३ गतेदेखि आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले उद्योग तथा खानी उत्खनन् प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ निष्काशन गरी बाँडफाँड गरेपछि अब सर्वसाधारणका लागि निष्काशन मिति तय गरेको हो ।

कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको शेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्ता सहित कुल २७ लाख ७६ हजार ७६ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

कम्पनीको आइपीओमा लगानीकर्ताले प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले आवेदन दिनु पर्नेछ। लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपीओमा छिटोमा फागुन १६ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा फागुन २७ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुका साथै सिडिएस एण्ड क्लिरिङ्गद्वारा सञ्चालित सफ्टवेयर मेरो शेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

Comments

Back to top