नारायणगढ–मुग्लिन सडक भोलिदेखि २४ सै घण्टा सञ्चालन हुने
नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा पुल निर्माणका लागि कडा चट्टानी पहाड फुटाउने कार्य अन्तिम चरणमा पुगेको छ । दैनिक दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द हुँदै आएकोमा भोलि (आइतवार)देखि २४ सै घण्टा सडक आवागमन खुला हुने नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्डले जानकारी दिएको छ ।
पहाड काट्नका लागि तेस्रो पटक थपेको म्याद आज सकिँदैछ । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का प्रमुख केदार नेपालका अनुसार पुस ७ गतेदेखि क्रमशः २१ दिनका दरले तेस्रो पटक सडक बन्द गरेर काम गरिएको हो । कूल ६३ दिनमा माघेसङ्क्रान्तिमा दुई दिन र अर्को एक दिन गरी तीन दिनबाहेक ६० दिन दिउँसो १२ बजेदेखि ४ बजेसम्म सडक बन्द गरेर काम गरिएको हो ।
काट्न बाँकी दुई मिटर पहाड सडक नरोकेरै भत्काउन मिल्ने उनको भनाइ छ । पुलको जगको काम अघि बढाउन मिल्ने भएकाले समय अनुकूल मिलाएर बाँकी ढिस्को भत्काइने उनले जानकारी दिए।
त्यहाँको ढिस्को ६० मिटर हाराहारी अग्लो थियो । गत साल २५ मिटर तल झारिएको थियो । बाँकी ३५ मिटर यो वर्ष भत्काउन सुरु गरिएको हो । गत साल कडा चट्टान आएपछि विस्फोट गर्ने भन्दै काम रोकिएको थियो । विस्फोट गर्दा पुलसमेत भत्कनसक्ने भएकाले पुनःएक पटक भत्काउने प्रयास गरिएको हो ।
Comments