धनुषामा बन्यो नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुल, प्रधानमन्त्रीले उद्घाटन गर्ने

धनुषामा नेपालकै सबैभन्दा लामो झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको छ ।

धनुषा तथा सिरहालाई जोड्ने नेपालकै सबैभन्दा लामो उक्त झोलुङ्गे पुलको उद्घाटन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ धनुषा आउने कार्यक्रम रहेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले फागुन १२ गते शनिबार प्रधानमन्त्रीले सो झोलुङ्गे पुलको उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी दिए। प्रधानमन्त्री दाहालले सोही दिन सबैला–४ पटेरवा र सिराहा जोड्ने कमला नदीमा मोटरेबल पुल शिलान्यास गर्ने कार्यक्रम समेत रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए ।

धनुषाको जनकनन्दिनी गाउँपालिका–६ कठाल र सिराहा नगरपालिका–१३ मलहनियाँ जोड्ने कमला नदीमा निर्माण गरिएको सो झोलुङ्गे पुलको लम्बाई १ हजार ५ सय दशमलव ४४ मिटर र चौडाई १.२ मिटर रहेको निर्माणमा विना पारिश्रमिक लिएर प्राविधिक सहयोग गरेका इन्जिनियर विनोद कुमार मण्डलले जानकारी दिएका छन् ।

नेपाल सरकारको ३४ करोडको लगानीमा निर्माण भएको सो झोलुङ्गे पुलको भार क्षमता ५ सय ४० मेट्रिक टन रहेको छ भने एक पटकमा ३ हजार ८६ जना व्यक्ति ओहोर दोहोर गर्न मिल्ने भएको इन्जिनियर मण्डलले बताए ।

Comments

Back to top