न्याय माग्दै काठमाडौँमा मार्च पास, माग पूरा नभए घर नफर्किने

मिटरब्याज र लघुवित्त पीडितहरूको न्याय मार्चको टोलीले मंगलबार काठमाडौँमा मार्च पास गरेको छ ।

लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालले लघुवित्त तथा वित्तिय शोषण विरुद्धमा काठमाडौँको रिङरोडमा मार्चपास गरेका हुन् । 

नेपालका बिभिन्न क्षेत्रबाट पैदलै उनीहरु काठमाडौं आएका हुन् । उनीहरुले सामान्तीका रुपमा रहेको लघुवित्त र वित्तिय संस्था खारेज गर, सामूहिक ऋण मिनाहा गर, समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर, आम गरिव किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगाएतका ९ बुँदे माग अघि सारेका छन् ।

लत्ताकपडासहित आएका लघुवित्तपीडितले आफ्ना मागहरु पूरा नभएसम्म घर नफर्किने बताएका छन् । मिटर व्याज र लघुवित्तले जग्गा–जमिन नै लिलाम गर्ने अवस्था आएकाले न्याय माग्न काठमाडौँ आएको उनीहरुको भनाइ छ ।

तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ । गत चैतमा पैदलयात्रा गर्दै काठमाडौँ आएर पीडितहरूले धर्ना दिएपछि सरकारले विशेष अदालतका अध्यक्ष गौरीबहादुर कार्कीको अध्यक्षतामा मिटरब्याज पीडित जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले प्रतिवेदन बुझाएपनि सरकारले अझैसम्म न्याय नदिएको उनीहरुको गुनासो छ । 

Comments

Back to top