नाभाल्नीको मृत्युमा रुससहित विश्वभर विरोध प्रदर्शन
रुसको जेलमा एलेक्सी नाभाल्नीको मृत्यु भएसँगै विश्वको विभिन्न सहरमा विरोध तथा श्रद्धाञ्जली भइरहेको छ।
राजनीतिक अभियन्ता नाभाल्नीका समर्थकहरु विश्वका प्रमुख सहरमा रहेका रुसी राजदुतावासअगाडि जम्मा भएका छन् । समर्थकहरुले लन्डन, पेरिस, जेनेभा र न्यूयाेर्कमा प्रदर्शन गरेका छन्।
जर्मनीकाे राजधानी बर्लिनमा भएको प्रदर्शनमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध आवाज उठाए । लण्डनस्थित रुसी राजदूतावासमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरु ‘नभाल्नी हाम्रो हिरो हुन्’ जस्ता संकेतहरु लिएर प्रदर्शनमा उत्रिएका थिए ।
जेनेभास्थित संयुक्त राष्ट्रअगाडि १०० जनाभन्दा बढी मानिस उभिएका थिए । नाभाल्नीको पोट्रेटमा सबैले फूल पनि चढाए । नाभाल्नीको मृत्युविरुद्ध रुसमा पनि विरोध भइरहेकाे छ।
रुसकाे राजधानी मस्को र सेन्ट पिटर्सबर्गस्थित स्मृतिहरुमा पनि मानिसहरुले फूल अर्पण गरेका छन्। साथै, रुसका सहरहरुमा भएकाे विरोधमा १०० भन्दा बढी व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ।
नाभाल्नीको श्रीमती युलियाले श्रीमानको मृत्युबारेको खबरमा सत्य भएको वा नभएकोबारे आफु अनविज्ञ रहेको बताइन् । यदि मृत्यु भएमा त्यसको कारण पुटिन हुने युलियाले बताइन् ।
Comments