एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी म्युचुअल फन्ड ल्याउने

एनआईसी एशिया क्यापिटलले दोस्रो खुलामुखी सामुहिक लगानी कोष योजना (म्चुचुअल फन्ड) सञ्चालन गर्ने भएको छ ।  क्यापिटलले ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम’ नामको खुलामुखी योजना सञ्चालन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आवेदन दिएको हो । योजनाको आकार एक अर्ब रहेको छ ।

योजना सञ्चालनको लागि क्यापिटलले गत असार ३१ गते नै निवेदन दिएकोमा धितोपत्र बोर्डलाई माघ २४ गते थप कागजात बुझाएको छ । योजना अन्तर्गत क्यापिटलले १० रुपैयाँ अंकित दरका १० करोड इकाई निष्कासन गर्ने छ ।

क्यापिटलले एनआईसी एशिया म्युचुअल फन्ड अन्तर्गत सञ्चालन हुने गरि यसअघि नै ‘एनआईसी एशिया डायनामिक डेट फन्ड’ नामक खुलामुखी योजना सञ्चालन गरिरहेको छ । यो योजनाको आकार ६४ करोड ५६ लाख रुपैयाँ बराबर पुगिसकेको छ ।

एनआईसी एशिया क्यापिटलले हाल एनआईसी एशिया ब्यालेन्स फन्ड, एनआइसी एशिया ग्रोथ फन्ड, एनआईसी एशिया सेलेक्ट–३० र एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड नामका चार ओटा बन्दमुखी म्युचुअल फण्ड योजना समेत सञ्ंचालन गरिरहेको छ।

Comments

Back to top