मौरीपालनमा रमाउँदै उद्यमी
दाङका मौरीपालक कृषक भीमप्रसाद सापकोटा यतिबेला मौरी चराउन कपिलवस्तुका विभिन्न क्षेत्रमा पुगेका छन् । २० वर्षअघि दुईवटा घार राखेर मौरीपालन सुरु गरेका सापकोटासँग अहिले १५० घार मौरी छन् । विगत १० वर्षदेखि कपिलवस्तु, नवलपरासी, रुपन्देहीका विभिन्न ठाउँमा मौरी चराउन पुग्ने गरेका छन् । उनले भने, “हामी छ महिना मौरी चराउन जान्छौँ, छ महिना घरमै बस्छौँ ।”
यी क्षेत्रमा प्रशस्त चरन क्षेत्र भएका कारण आफूहरू मौरी चराउन आएको दाङका मौरीपालक कृषक सापकोटाले बताए । उनले मेलिफेरा जातको मौरी पालेका छन् । तोरी, चिउरी, फापर, रुदिलो, सिसौ आदिको फूलमौरीको आहाराका लागि उपयुक्त हुन्छ । यी र यस्ता वनस्पति र फूल यस क्षेत्रमा पाइने भएका कारण पनि मौरीपालक कृषक जिल्लाका विभिन्न स्थानमा अहिले मौरी चराउन आकर्षित भएका हुन् ।
केही वर्षअघिसम्म मौरी चरनलाई स्थानीयवासीले अवरोध गरे पनि यतिबेला अप्ठ्यारो नभएको उनले बताए । मौरीले परागसेचनमा सघाउ पु-याउने भएकाले कृषकले पनि मौरीपालकलाई सघाउने गरेका हुन् । मेलिफेरा जातको मौरीपालन गर्दा एक घारबाट वार्षिक ३० किलोग्रामसम्म मह उत्पादन हुने मौरीपालक कृषक बताउँछन् । मौरी उद्यमी सापकोटाले मौरीपालनबाट वार्षिक रुपमा लाखौँ कमाई गर्ने बताउँछन् ।
स्रोत: गोरखापत्र
Comments