सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउने माल्दिभ्सको लक्ष्य

माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले देशको पर्यटन उद्योग स्थापनापछि  इतिहासमै पहिलो पटक सन् २०२४ मा २० लाख पर्यटक भित्र्याउन सक्ने बताएका छन्। 

मुइज्जुले जारी १९औं संसद्को अन्तिम अधिवेशनको उद्घाटन बैठकमा राष्ट्रपतिका रूपमा आफ्नो पहिलो सम्बोधनमा उक्त कुरा बताएका हुन्। 

राष्ट्रपति मुइज्जुले बेलाना अन्तर्राष्ट्रिय विमानस्थल (भिआईए) को विस्तारले वर्षको मध्यसम्म औसतमा १०.३ प्रतिशतले पर्यटक आगमनमा वृद्धि हुने दाबी गरे।

मालदिभ्स सरकारले यस वर्ष २० वटा नयाँ रिसोर्ट खोल्न चाहेको र ती रिसोर्टले दुई हजार ८२७ बेड निर्माण गर्ने उनको भनाइ छ।विभिन्न कारणले रोकिएका टापु, जग्गा प्लटिङ र तालको विकासका लागि अवरोधको पहिचान गरी सम्भावित समाधानको खोजी भइरहेको राष्ट्रपति मुइज्जुलले जानकारी दिए। 

माल्दिभ्सको आधिकारिक तथ्यांकअनुसार सन् २०२३ मा माल्दिभ्समा १८ लाख बढी विदेशी पर्यटक आएका छन्।

माल्दिभ्सको पर्यटन मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार माल्दिभ्समा यस वर्षको जनवरीमा १ लाख ९२ हजार बढी पर्यटक भित्रिएका छन्, जुन गत वर्षको सोही अवधिको तुलनामा ११.५ प्रतिशतले बढी हो।–एजेन्सी

Comments

Back to top