संसदको हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै
संघीय संसद्को हिउँदे अधिवेशन आजदेखि सुरु हुँदै छ । संसद्का दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आज अपरान्ह ४ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको पहिलो बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आव्हानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची छ ।
त्यसपछि सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्र, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउनेछन् ।
आजको बैठकमा सभामुख घिमिरेले प्रतिनिधि सभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्नेको मनोनयनको निर्णय सुनाउनेछन् ।
यस्तै बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको “विद्युतीय व्यापार विधेयक, २०८० र राष्ट्रिय मर्यादा सम्बन्धी विधेयक, २०७९“ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने उल्लेख छ । संसद् सचिवालयले दुवै बैठकका लागि प्राविधिक तथा भौतिक पूर्वाधार व्यवस्थापनको तयारी पूरा भएको जनाएको छ ।
सचिवालयले यस पटकदेखि कानुन निर्माणका हिसाबले प्रभावकारी र चुस्त बनाउन पाक्षिक रुपमा क्यालेन्डर बनाएर अधिवेशन सञ्चालन गर्ने तयारी गरेको छ । हरेक १५–१५ दिनमा कार्यतालिका बनाउने र त्यसका आधारमा बैठक सञ्चालन हुने संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए ।
Comments