“विश्वमा कुनै क्षमता छैन जसले रुसी तेल आपूर्तिलाई प्रतिस्थापन गर्न सक्छ, ” ओपेक प्रमुख

ओपेकका महासचिव मोहम्मद बारकिन्डोका अनुसार रूसी तेल निर्यात विश्वव्यापी आपूर्तिको लागि महत्त्वपूर्ण छ र विश्वमा कुनै स्रोत छैन जसले रुसी लाखौं ब्यारेलको तेल उत्पादन क्षतिपूर्ति गर्न सक्छ ।

अमेरिकाले युक्रेन आक्रमणको कारण रूसबाट तेल आयातमा प्रतिबन्ध लगाउने निर्णय गर्नुभन्दा अघिनै ओपेक प्रमुखले उक्त कुरा बताएका हुन् । यो तथ्य नजर अन्दाज गर्दै अमेरिकाले रुसी तेल र ग्यासमा प्रतिबन्ध लगाईसकेको छ । उसले खाडी मुलुकहरुलाई तेल उत्पादन बढाउन पनि आग्रह गर्ने जनाईएको छ । सम्भवत: बाइडेनले यसका लागि साउदी अरबको भ्रमण पनि गर्नेछन् ।

यस्तो विकराल अवस्थाले विश्वमा रूसी तेलको विकल्प छ कि छैन भनेर बहसलाई पनि उत्प्रेरित गरेको छ।

रोयटर्सका अनुसार ओपेक प्रमुख मोहम्मद बारकिन्डोले एक सम्मेलनमा पत्रकारहरूलाई भने, “संसारमा प्रतिदिन ७० लाख ब्यारेललाई प्रतिस्थापन गर्न सक्ने क्षमता छैन।”

सन् २०१६ देखि ओपेकको महासचिव रहेका बारकिन्डोले सोमबार ह्युस्टनमा भएको एक उद्योग सम्मेलनमा तेलको मूल्य १४ वर्षकै उच्च बिन्दुमा पुग्दा बोल्दै थिए ।

मङ्गलबार ब्रेन्ट क्रुडको भाउ १.७% माथि $१२५.१५ प्रति ब्यारेल थियो, जुन अघिल्लो सत्रमा प्रति ब्यारेल १३९.१३ डलरमा पुगेपछि लगातार तेस्रो दिन बढेको थियो। WTI मंगलबार २.८% माथि सारियो।

बारकिन्डोले युक्रेनमा द्वन्द्व जारी रहँदा र रुस तथा पश्चिमको व्यापार चाल र धम्कीले गर्दा इन्धन बजारमा पार्न सक्ने प्रभाव विकराल हुने संकेत दिए।

“हामीसँग वर्तमान घटनाक्रम, भूराजनीतिमा कुनै नियन्त्रण छैन र यसले बजारको गतिलाई निर्देशित गरिरहेको छ,” उनले भने।

अहिलेसम्म, ओपेक र यसका सहयोगीहरूले उत्पादन बढाउनमा कुनै चासो देखाएका छैनन्, जसले गर्दा केही विश्लेषकहरूले रुसी तेल आपूर्ति विश्वका लागि अपरिहार्य रहेको बताएका छन्।

ताजा अवस्थामा, रुसी तेल र ग्यासमा प्रतिबन्ध लागिसकेको छ । यसले गर्दा विश्वमा भयानक उर्जासंकट आउने निश्चित देखिन्छ । इन्धनको हाहाकारले एकतर्फ मूल्य आकाशिने छ र अर्कोतर्फ विश्वका आधाजति गाडी तेल अभावमा घरमा थन्किने अवस्था पनि सिर्जना हुने देखिन्छ । यस्तो अवस्था आउनु विश्वअर्थतन्त्रको लागि पक्कै पनि शुभ संकेत होइन ।

स्रोत: businessinsider.com

Comments

Back to top