चुनाव जितेर प्रधानमन्त्री बन्न पूर्व राजालाई नेकपा एसका अध्यक्ष नेपालको सुझाव

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले देश राम्रोसँग नचलेको भए राम्रो प्रधानमन्त्रीको रुपमा देशलाई विकल्प दिन पूर्वराजा ज्ञानेन्द्र शाहलाई सुझाव दिएका छन् । शनिवार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । अध्यक्ष नेपालले मुलुक राम्ररी चलाउन सकेनन् भन्ने लागेको भए नेता भइ चुनाव जितेर प्रधानमन्त्री बन्दै नेतृत्व गर्न सुझाव दिए ।

राष्ट्रपति बन्नका लागि मानिसहरुको अभाव नरहेको अध्यक्ष नेपालले बताए। देशमा अहिले प्रतिगामी शक्तिहरुले टाउको उठाउने र व्यवस्थालाई समाप्त पार्ने काम भइरहेको उनको भनाइ छ । अध्यक्ष नेपालले राजतन्त्रले लुम्बिनी विकास कोष, पशुपति विकास कोषमा लुट मच्चाएको र जनकपुरमा पनि बाहिरबाट आएका अनेक श्रोतसाधनहरुलाई एकलौटि कब्जा गरेको आरोप लगाए।

अध्यक्ष नेपालले सरकारको अहिलेको स्थितिसँग आफू सन्तुष्ट नरहेको उल्लेख गरे । उनले आफ्नो पार्टी मुलुकमा विद्यमान स्थितिको बारेमा गम्भीर रहेको भन्दै समस्या समाधानका लागि छलफल जरुरी रहेको बताए । अध्यक्ष नेपालले विश्वविद्यालयहरुमा विद्यार्थीहरु कमी भइरहेको बारेमा गहन अध्ययन गर्न जरुरी रहेको बताए ।

Comments

Back to top