३ महिना लामाे अनुसन्धानपछि अरुण चौधरीलगायतलाई पक्राउ गरिएको सीआईबीको दाबी

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले तीन महिना लामो अनुसन्धानपछि मात्रै बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा तीन जनालाई पक्राउ गरेको बताएको छ ।

सीआईबीले आज काठमाण्डाैमा पत्रकार सम्मेलन गरेर लामो अनुसन्धानपछि मात्र पक्राउ गरेको बताएको हो । सीआईबीले हिजो व्यवसायी अरुण चौधरी, बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन कार्यकारी निर्देशक अजित नारायण थापासहित तीन जनालाई पक्राउ गरेकोमा प्रहरीले अकास्मात् पक्राउ गरेको भन्दै नेपाल उद्योग परिसङ्घले विरोध गरेको थियो ।

सीआईबीका अनुसार थापाले २०४३ सालको भदौ १० गते अरुण चौधरीसमेत सञ्चालक रहेको च्याम्पियन फुटवेयर कम्पनी खोल्न प्रवर्द्धन सम्झौता गरेका थिए । सम्झौताअनुसार जारी पुँजी ५० लाख रहेको कम्पनीमा अरुण चौधरी समूहको ५१ प्रतिशत, बाँसबारीको २५ प्रतिशत र सार्वसाधारणको २४ प्रतिशत शेयर हुनेपर्ने हो । तर १२ लाख ५० हजार लगानी गर्नुपर्ने छाला जुत्ताले २६ लाख रुपैयाँभन्दा धेरै लगानी गरेको पाइएको छ । चौधरी समूहले आठ लाख रुपैयाँमात्र लगानी गरेको र सर्वसाधारणको शेयर नै नखुलाएको पाइएको सीआईबीले जनाएको छ ।

सम्झौताअनुसार बाँसबारीको १० रोपनी जग्गा लिएपछि च्याम्पियन फुटवेयर कम्पनी नै बन्द भएको पाइएको छ । कम्पनीमा रहेको सरकारी शेयर अरुण चौधरीले नै किनेको भन्दै सीआईबीले सिङ्गो योजना जुत्ता कारखाना सञ्चालन गरेर शेयरअनुसार लगानी गर्ने भन्दा पनि बाँसबारीका छाला जुत्ताको जग्गा लिने उद्देश्य देखिएको जनाएको छ ।

Comments

Back to top