भारतको छत्तीसगढको सुरक्षा क्याम्पमा माओवादी आक्रमण, तीन प्रहरीको मृत्यु
भारतको छत्तीसगढस्थित बिजापुर–सुकमा जिल्लाको सीमामा अवस्थित टेकुलगुडममा रहेको सुरक्षा बलको क्याम्पमा माओवादीले आक्रमण गरेको छ ।
आक्रमणमा परी तीन प्रहरी जवानको मृत्यु भएको छ भने १४ प्रहरी घाइते भएका बीबीसी हिन्दीले जनाएको छ ।
माओवादी प्रभावित उक्त क्षेत्रमा प्रहरीले गत मंगलबार मात्रै नयाँ शिविर स्थापना गरेको थियो । माओवादीको खोजी अभियानमा निस्किएका प्रहरीमाथि शंकास्पद माओवादीले चौतर्फी हमला गरेका थिए ।
केही घण्टासम्म चलेको दोहोरो भिडन्तमा परी घाइते जवानलाई उपचारका लागि जगदलपुर रिफर गरिएको बीबीसी हिन्दीले लेखेको छ । तीमध्ये धेरै प्रहरीको अवस्था चिन्ताजनक रहेको छ ।
तेकुलगुडम क्षेत्रमा सन् २०२१ मा माओवादीसँगको भिडन्तमा २३ प्रहरी मारिएका थिए ।
Comments