मालदिभ्सका राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोगको तयारी

मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइजजुविरुद्ध महाअभियोग लगाउने तयारी भएको छ । प्रमुख प्रतिपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी एमडीपीले राष्ट्रपति मोहम्मद मुइज्जुविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।

समाचारमा उल्लेख भए अनुसार महाअभियोगका लागि विपक्षीदलले आवश्यक सांसदको संख्या जुटाइसकेका छन् । महाअभियोग प्रस्तावको पक्षमा एमडीपीसँगै डेमोक्रेट्स सांसदहरु पनि सँगै छन् ।

एमडीपीका ४३ र डेमोक्रेट्सका १३ गरी कूल ५६ सांसद छन् । संविधान अनुसार राष्ट्रपतिमाथि महाअभियोग प्रस्ताव पास गर्नका लागि ५६ भोट नै चाहिन्छ । संसदका सभामुख र उपसभामुख एमडीपीका हुन् ।

मुइज्जु नेतृत्वको सरकारमा चार जना मन्त्री थप्ने विषयमा विवाद हुँदा मालदिभ्सको संसद भित्र सत्ता पक्ष र विपक्षी दलका सांसदबीच कुटाकुट नै भएको थियो । त्यसलगत्तै राष्ट्रपति मुइज्जुविरुद्ध महाअभियोग लगाउने खेल सुरु भएको हो ।

मुइज्जु चीन समर्थक हुन् भने विपक्षी दल भारत समर्थक मानिन्छन् ।

मुइज्जु सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै विपक्षी दलले सरकारको कडा आलोचना गर्दै आएको छ । ‘इण्डिया आउट’ को नारामार्फत चुनाव जितेका मोहम्मद मुइज्जु नवनियुक्त राष्ट्रपति हुन् ।

उनी तीन महिनाअघि मात्रै राष्ट्रपतिमा नियुक्त भएका थिए ।

Comments

Back to top