नीतीश कुमार नवाैँ पटक बिहारकाे मुख्यमन्त्री नियुक्त
नीतीश कुमार नवौँ पटक बिहारको मुख्यमन्त्री बनेका हुन् । नीतीश कुमारले आजै बिहान बिहारको राजभवनमा राज्यपाल राजेन्द्र विश्वनाथ अर्लेकरलाई भेटेर आफ्नो राजीनामा बुझाएका थिए ।
उनी यसअघि कांग्रेस आई, कम्युनिस्ट लगायतका दलसँगको गठबन्धनमा आवद्ध भएकोमा आज भारतीय जनता पार्टीसँगको गठबन्धनमा लागेका छन्। पदको लोभी भएको भन्दै नीतीश कुमारको चर्को आलोचना भइरहेको छ । भारतमा यसै वर्ष आमचुनाव हुँदैछ र यो राजीनामा र नियुक्तिलाई चुनावअघिको चलखेलका रूपमा लिइएको छ । उनलाई सत्ताका लागि जता पनि ढल्कने र जोसँग पनि मिल्ने अवसरवादी नेताको आरोप लाग्दै आएको छ ।
नीतीश कुमार पछिल्लो दुई दशकदेखि बिहारको राजनीतिको केन्द्र बनेका छन् । बितेको एक दशकमा उनले पाँचौँ पटक गठबन्धन फेरेका छन् । अहिलेका प्रधानमन्त्री नरेन्द्र मोदीको विरोध गर्दै नीतीश बीजेपीबाट बाहिरिँदै सन् २०१४ मा लोकसभा चुनाव एक्लै लडेका थिए । २० सिट भएको जनता दल युनाइटेड पछिल्लो लोकसभा चुनावमा दुई सिटमा समेटियो । चुनावमा निराशाजनक नतिजापछि नीतीशले राष्ट्रिय जनता दल र कांग्रेस पार्टीसँग गठबन्धन गरेका थिए ।
नीतीश कुमारले सन् २००० मा पहिलाे पटक बिहारकाे मुख्यमन्त्रीकाे शपथ लिएका थिए । त्यसयता उनले सन् २००५, २०१०, २०१५ (दुई पटक), २०१७, २०२०, २०२२ मा मुख्यमन्त्रीकाे शपथ लिएका थिए ।
Comments