राष्ट्रिय सभा सदस्यका लागि आज सातवटै प्रदेशमा निर्वाचन, मतदान बिहान ९ बजे

राष्ट्रिय सभा सदस्यका लागि आज सातवटै प्रदेशमा मतदान हुदै छ । निर्वाचनका लागि सबै प्रदेशका मतदान केन्द्र तयारी अवस्थामा राखिएको छ । मतदान बिहान ९ बजेदेखि तीन बजेसम्म हुने छ ।

मतदानमा प्रदेश सभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुखले भाग लिने छन् ।

निर्वाचनमा प्रदेश सभाका सदस्यले भोट हाल्ने मतपत्र छुट्टै हुने छ । गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखका लागि अर्कै मत पत्रको व्यवस्था गरिएको छ ।

निर्वाचनमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख रहेको निर्वाचक मण्डल रहनेछ ।
सम्बन्धित मतदान केन्द्रमा आयोगले तोकेको कुनै एक परिचयपत्रका साथ उपस्थित भई गोप्य मताधिकारको प्रयोग गर्न आग्रह गरेको छ । आगामी फागुन २१ गतेदेखि रिक्त हुने १९ पदका लागि आज निर्वाचन हुन लागेको हो ।

प्रदेश सभा सदस्यको मतभार ५३ र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको १९ मतभारका दरले मतगणना हुनेछ ।
प्रदेश सभा सदस्य ५४९ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी एक हजार ४ सय ९८ जनाले मतदान गर्ने छन् ।

Comments

Back to top