अण्डर १९ विश्वकप क्रिकेटमा नेपाल आज पाकिस्तानसँग भिड्दै

दक्षिण अफ्रिकामा जारी आईसीसी अण्डर १९ विश्वकप क्रिकेटमा आज नेपालले पाकिस्तानको सामना गर्दैछ । नेपाले आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी मानिएको पाकिस्तानसँग दिउँसो पौने २ बजे खेल्ने छ ।

यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले यू–१९ विश्वकपमा यसअघि पाकिस्तानलाई एउटा खेलमा हराइसकेको छ ।

सन् २००२ मा न्युजिल्यान्डमा आयोजित विश्वकपमा नेपाली टोलीले पहिलो पटक टेस्ट राष्ट्र पाकिस्तानलाई हराएको थियो । यू–१९ विश्वकपमा आठौँ पटक सहभागिता जनाइरहेको नेपाल प्रतियोगिताको समूह ‘डी’ मा परेको छ । उक्त समूहमा नेपाल, न्युजिल्यान्ड र पाकिस्तानका अतिरिक्त अफगानिस्तान पनि रहेको छ ।

नेपालले समूहगत चरणमा आफ्नो तेस्रो तथा अन्तिम खेल जनवरी २७ तारिखमा अफगानिस्तानसँग खेल्नेछ।

नेपाल देव खनालको कप्तानीमा मैदानमा उत्रिएको छ। नेपाली टोलीमा अर्जुन कुमाल, आकाश त्रिपाठी, दीपकप्रसाद डुम्रे, दुर्गेश गुप्ता, गुल्सनकुमार झा, दीपेशप्रसाद कँडेल, विशालबिक्रम केसी, सुवास भण्डारी र दीपक बोहरा छन् । त्यस्तै, उत्तम रंगु थापामगर, विपिन रावल, तिलकराज भण्डारी, दीपक बोहरा र आकाश चन्द पनि टिममा छन् । जारी प्रतियोगितामा १६ राष्ट्रको सहभागिता छ ।

प्रतियोगितामा सहभागी १६ टोलीलाई चारवटा समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको फाइनल खेल फेब्रुअरी ११ तारिखमा हुने छ ।

Comments

Back to top