अमेरिकासँग लामो दूरीका चार सय वटा क्षेप्यास्त्र किन्दै जापान
जापानले क्षेत्रीय सुरक्षा खतराको सामना गर्न आफ्नो सैन्य क्षमता बढाउनका लागि आफ्नो सहयोगी अमेरिकासँग चार सय वटा लामो दूरीको टोमाहक क्षेप्यास्त्र खरिदसम्बन्धी एक सम्झौतामा हस्ताक्षर गरेको छ ।
बढ्दो चिनियाँ शक्ति र आणविक हतियारयुक्त उत्तर कोरियाको सामना गर्दै जापानी सरकारले सन् २०२७ सम्म आफ्नो रक्षा खर्चलाई दोब्बर बनाएर नाटोको मापदण्डअनुसार कूल गार्हस्थ्य उत्पादनको दुई प्रतिशतसम्म बनाउने योजना बनाइरहेको छ ।
एक हजार छ सय किलोमिटरसम्म मार हान्न सक्ने दुई प्रकारका टोमाहकहरू दुई अर्ब ३५ करोड अमेरिकी डलरसम्मको बिक्रीलाई नोभेम्बरमा वासिङ्टनले अनुमोदन गरेको थियो ।
“यो हस्ताक्षरको निष्कर्षका साथ टोमाहक क्षेप्यास्त्र खरिद कार्य सुरु हुनेछ”, टोक्योमा सम्झौतामा हस्ताक्षर भएपछि रक्षा मन्त्रालयका एक अधिकारीले पत्रकारहरूसँग भने, “रक्षा बजेटको सुदृढ कार्यान्वयनमार्फत हामी आफ्नो रक्षा क्षमतालाई व्यापकरूपमा सुदृढ गर्नेछौँ ।”
Comments