पाकिस्तान र ईरानबीच तनाव बढ्दै, आफ्नो भूमिमा भएको आक्रमणको बदलामा पाकिस्तानले हान्यो ईरानमा रकेट

पाकिस्तान र ईरानबीच तनाव बढ्दै गएको छ । पाकिस्तानले आफ्नो भूमिमा भएको आक्रमणको बदलामा आज ईरानमा रकेट र ड्रोनबाट आक्रमण गरेको छ ।

यो आक्रमणमा कम्तिमा ९ जनाको मृत्यु भएको बताइएको छ । ईरानको सरकारी मिडियाका अनुसार पाकिस्तानको आक्रमणमा ९ जना विदेशी नागरिक मारिएका छन् । तिमध्ये तीन महिला र चार बच्चा रहेको बताइएको छ ।

यो आक्रमण ईरान-पाकिस्तान सिमा क्षेत्रमा गरिएको थियो । पाकिस्तानले ईरानको सिस्तान-बलूचिस्तान प्रान्तमा आतंकवादीलाई लक्षित गरेर आक्रमण गरेको दाबी गरेको थियो ।

पाकिस्तानी विदेश मन्त्रालयले आफ्नो मुलुकमा रक्तपात मच्चाउने आतंकवादीलाई ईरानले शरण दिइरहेको भन्दै सोही स्थानमा आक्रमण गरेको बताएको थियो । मन्त्रालयले यसमा आतंकवादी मारिएको दाबी पनि गरेको थियो ।

ईरानको बलूचिस्तानमा सक्रिय अतिवादी संगठन बीएलएले पाकिस्तानले आक्रमण गरेको क्षेत्रमा आफ्नो पकड नभएको प्रतिक्रिया दिएको छ।

ईरानमा आक्रमण गरेपछि पाकिस्तानी सेनाले आक्रमणका क्रममा ड्रोन, रकेट र अन्य हतियार प्रयोग गरिएको उल्लेख गरेको थियो ।

त्यसअघि ईरानले आतंकवादी रहेको भन्दै पाकिस्तानमा मिसाईल प्रहार गरेको थियो । मंगलबार ईरानले पाकिस्तानको बलूचिस्तानमा आक्रमण गरेर जैश अल अदल नामको संगठनका कार्यकर्ता मारेको दाबी गरेको थियो ।

पाकिस्तानले यसलाई आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण भएको बताएको थियो । पाकिस्तानले ईरानबाट आफ्ना राजदूतलाई समेत फिर्ता बोलाइसकेको छ। बदलामा पाकिस्तानले ईरानको बलूचिस्तानमा आक्रमण गरेको हो ।

Comments

Back to top