माघ ६ गतेदेखि हुने भनिएको ईपीएस भाषा परीक्षा दुईसाता धकेलियो
उत्पादनमूलक क्षेत्रका लागि कोरिया जान आवेदन दिएकाहरूको परीक्षा ढिलागरी हुने भएको हो । रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा परीक्षा केही ढिलाइ हुने भएको हो ।
यसअघि जनवरी २० तारिखदेखि परीक्षा हुने गरी तयार भएको थियो । तर, अनलाइन प्रणालीमा प्राविधिक समस्या आएपछि फेब्रुअरी ४ तारिखदेखि हुने सूचना जारी हुने बताइएको छ ।
एचआरडी कोरियाका अधिकारीहरूसँगको छलफलको क्रममा २० जनवरी (माघ ६ गते) देखि परीक्षा गर्ने गरी कार्यतालिका सार्वजनिक गर्ने बताएका थिए ।
तर, आवेदन फारम भर्ने र आवेदकहरूको परीक्षा सम्बन्धी रेकर्ड राख्ने अनलाइन सिस्टमका कारण परीक्षा केही ढिलाइ हुने वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले बताए ।
अहिले १ लाख ६४ हजारको विवरण कोरिया पठाएर काम हुँदा अलिकति ढिला हुने र फेब्रुअरीको ४ (माघ २१ गते) बाट सूचना निकाल्नुपर्ने समय आउने बताइएको छ ।
यसअघि हजारको संख्यामा आवेदन पर्दै आएको थियो । तर, यो पटक भनेको लाखको संख्यामा आवेदन परेको हो ।
धेरै आवेदन परेपछि अनलाइन सिस्टम नै अपग्रेड गर्नुपरेको थियो । जसले गर्दा परीक्षामा यसअघिको मितिभन्दा ढिलाइ हुने भएको महानिर्देशक घिमिरेले बताए ।
ईपीएस भाषा परीक्षा तीन चरणमा हुनेछ । एचआरडी कोरियाले भाषा परीक्षा तीन चरणमा गर्ने गरी तयारी गरेको हो । ठूलो संख्यामा आवेदन परेकाले तीन चरणमा परीक्षा सञ्चालन गर्नेगरी एचआरडी कोरियाले तयारी गरेको हो ।
पहिलो चरणमा ४७ हजार जनाको परीक्षा गरिनेछ । त्यस्तै दोस्रो चरणमा ८० हजार र तेस्रो चरणमा बाँकी ३७ हजार गरी एक लाख ६४ हजार ७१६ जनाको परीक्षा दिनेगरी कार्यतालिका बनेको हो ।
Comments