राष्ट्रिय सभा चुनाव: माघ २ देखि आचारसंहिता लागू हुने, ८ गते रातिबाट मौन अवधि
राष्ट्रिय सभा चुनावको लागि निर्वाचन आयोगले माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । ११ माघमा राष्ट्रिय सभाको निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू हुने छ ।
राष्ट्रिय सभाको १९ सिटका माघ ११ गते चुनाव हुँदैछ । जसका लागि आठ दलबाट ५२ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनको ४८ घण्टा अगाडि मौन अवधि सुरू हुने पनि आयोगले जनाएको छ ।
आयोगका अनुसार माघ ८ गते मध्यराति १२ बजेदेखि उक्त मौन अवधि सुरू हुन्छ । त्यस अवधिमा निर्वाचनको प्रचारप्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी गर्न पाइन्न ।
आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार माघ २ गतेदेखि आचारसंहिता लागू हुने र ८ गतेदेखि मौन अवधि सुरु हुने छ ।
मतदान स्थलको दुई सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसारका सामग्री हटाउनुपर्ने, कुनै पनि विधि प्रक्रिया वा माध्यमबाट मत माग्न र प्रचार गर्न नहुने भनिएको छ ।
निर्वाचन आचारसंहिताले कुनै पनि सार्वजनिक स्रोत साधन र सम्पत्ति कुनै दल वा उम्मेदवारको पक्ष विपक्षमा प्रयोग गर्न वा गराउन नपाइने उल्लेख गरेको छ ।
आयोगले निर्वाचनका लागि सार्वजनिक संस्था, विद्यालय, विश्वविद्यालयलगायत क्षेत्रमा पनि प्रचारप्रसार तथा भेला नगर्न निर्देशन दिएको छ ।
आचारसंहिताअनुसार प्रचलित कानुन बमोजिम निषेध गरिएको समय र स्थानमा अवरोध हुने गरी कुनै किसिमको जुलुस, आमसभा, कोणसभा, बैठक, भेला गरी निर्वाचन प्रचारप्रसार गर्न वा गराउन नहुने भनिएको छ ।
Comments