युद्ध, रोग र भोकमरीको तेहेरो मारको सामना गर्दै गाजाबासी

गाजा पट्टीका परिवारहरूले द्वन्द्व, सुरक्षित पानीको अभावबाट हुने रोग र खाद्यान्न अभावका कारण भोकमरीको ‘तेहेरो खतरा’ को सामना गरिरहेको संयुक्त राष्ट्रसङ्घका अधिकारीले शनिबार बताएका छन्।

गाजामा बन्धक बनाइएका बाँकी इजरायली बालबालिकाका लागि पनि यो दुःस्वप्न जारी रहेको र स्थिति तीव्र गतिमा बिग्रँदै गएको उनीहरूले बताएका छन् ।

प्यालेस्टिनीका लागि संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) की विशेष प्रतिनिधि लुसिया एल्मीले जेरुसेलमबाट भिडियो लिङ्कमार्फत आयोजित पत्रकार सम्मेलनमा आफू गाजामा एक हप्ता बिताएर भर्खरै फर्केको बताए ।

गाजाको पछिल्लो स्थितिले आफूलाइै निकै दुःखी बनाएको बताउँदै उनले भने, “हजारौं बालबालिकाको मृत्यु भइसकेको र तीनवटा अत्यावश्यक समस्या तत्काल सम्बोधन नगरिए अझै हजारौं बालबालिकाले ज्यान गुम्ने जोखिम रहेको छ ।”

बमबारीबाट पीडितका लागि राहतको व्यवस्था गर्न सुरक्षा, सहायता वितरणको लागि रसद, र व्यावसायिक क्षेत्रको पुनः सञ्चालन आवश्यक छ । एल्मीले पत्रकारहरूसँग कुरा गर्दै विगत दुई हप्तामा मात्र गाजामा बालबालिकामा झाडापखालाका घटनाहरु झण्डै दोब्बर भएर ७० हजार पुगेको बताए ।

करिब एक लाख ३५ हजार बालबालिका पनि गम्भीर कुपोषणको जोखिममा छन् । उनले तत्काल र दीर्घकालीन युद्धविराम नै बालबालिका र परिवारको हत्या र घाइतेको अन्त्य गर्ने एक मात्र उपाय भएको र अति आवश्यक मानवीय सहायता तत्काल उपलब्ध गराउन आवश्यक रहेको उल्लेख गरे ।

Comments

Back to top