सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप आजदेखि
घरेलु क्रिकेटको सबैभन्दा ठूलो क्रिकेट प्रतियोगिता प्रधानमन्त्री कप आज शनिबारदेखि सुरु हुँदै छ । खेल काठमाडौंका त्रिवि क्रिकेट मैदान र मूलपानी क्रिकेट मैदानका साथै भैरहवामा पनि हुनेछन् ।
५० ओभरको हुने खेल यसपटक प्रतियोगिताको फर्म्याट नयाँ छ । पहिलो पटक राउन्ड रोबिनमा हुन लागेको प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय टिमले खेल्ने छन् ।
खेल माघ २० गतेसम्म चल्ने छ ।
अघिल्ला सिजनमा प्रधानमन्त्री कपमा सहभागी टिमलाई २ समूहमा विभाजन गरेर खेलाइन्थ्यो । समूहका शीर्ष २ टिमले सेमिफाइनल खेल्थे ।
तर यसपटक १० टिमले राउण्ड रोबिनमा ९ खेल खेल्ने छन् । सबै टिमले एक अर्कासँग खेलेपछि शीर्ष २ टिमले फाइनल खेल्ने तालिका छ ।
धेरै खेल खेल्न पाउँदा टिमको साथसाथै खेलाडीलाई पनि प्रदर्शन सुधार्ने मौका हुनेछ ।
प्रदेशका टिमहरुले विभागका टिमसँग र नयाँ खेलाडीले राष्ट्रिय टिमका खेलाडीसँग एउटै टिममा रहेर खेल्दा सिक्ने अवसर हुनेछ ।
घरेलु क्रिकेटलाई विकास गर्ने योजना अनुसार गतहप्ता सकिएको प्रधानमन्त्री महिला टी–२० कप पहिलो पटक राउन्ड रोबिनमा भएको थियो । जसमा महिला खेलाडीले धेरै खेल खेल्न पाएको र त्यसले आफूहरुको क्षमता विकासमा सहयोग पुगेको बताएका थिए ।
क्यानले प्रधानमन्त्री कपलाई नै आधार बनाएर यसका शीर्ष ४ टिमले खेल्ने एलिट कप आयोजना गर्ने घोषणा पनि गरेको छ ।
Comments