हुथी विद्रोहीलाई लक्षित गर्दै यमनमा अमेरिका र बेलायतको भिषण आक्रमण

पश्चिमा देशले यमनका हूथी विद्रोहीविरुद्ध हवाई आक्रमण सुरु गरेका छन् । अमेरिका र बेलायतले संयुक्तरुपमा हुथी विद्रोहीमाथि आक्रमण सुरु गरेका हुन् ।

रेड सागरमा मालबाहक जहाजलाई हुथी विद्रोहीले निशाना बनाएको भन्दै दुवै राष्ट्र आक्रामक रुपमा हमलामा उत्रिएका हुन् ।

दुवै देशका सेनाले यमनका हुथी विद्रोहीको पकड रहेको स्थानमा हवाई हमला गरेको बीबीसीले जनाएको छ । विद्रोही समूहले आश्रय लिएका स्थानहरुमा हवाइ हमला भएको छ ।

यमनको राजधानी सनासहित रेड सी मा हुथीको नियन्त्रणमा रहेको बन्दरगाह र यमनको उत्तर पश्चिमी क्षेत्रमा आक्रमण भएको भिडिओ फुटेज सार्वजनिक भएका छन् ।

आफ्नो व्यापारमा हुथी समूहले अवरोध गरेकाले आक्रमण गर्नु परेको अमेरिकाको भनाई छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले सहज व्यापारको अवस्था नआइन्जेलसम्म आक्रमण जारी रहने बताएका छन् ।

बाइडनले पछिल्लो आक्रमणलाई रेड सी मा हुथी विद्रोहीले आफ्ना पानी जहाजहरूमाथि गरेको आक्रमणको प्रतिक्रिया भएको बताएका छन् ।

बेलायतका प्रधानमन्त्री ऋषि सुनकले पनि आक्रमणको पुष्टि गरेका छन् । उनले आफुहरुको हवाई आक्रमण अत्यावश्यक र आत्मरक्षाको लागि चालिएको कदम भएको बताएका छन् ।

यमनको अधिकांश क्षेत्र नियन्त्रणमा लिएका हुथीले इजरायलतर्फ जाने पानी जहाजलाई निसाना बनाउने गरेका थिए । हुथी समूहले हमासलाई सहयोग गर्दै आएको छ ।

Comments

Back to top