रामबहादुर बम्जनलाई जेल चलान गर्न अदालतको आदेश
कथित तपस्वी रामबहादुर बम्जनलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ ।
जिल्ला न्यायाधीश विष्णुप्रसाद रेग्मीको एकल इजलासले बम्जनलाई थुनामा पठाउन आदेश दिएको हो । बिहीबार सातजना वकिलले बहस गरेपछि इजलासले थुनछेक आदेश दिएको थियो ।
प्रतिवादी बम्जनका तर्फबाट पाँचजना र वादीको तर्फबाट दुईजना सरकारी वकिलले बहस गरेका हुन् । बम्जनविरुद्ध जिल्ला अदालत सर्लाहीमा नाबालिगमाथि जबरजस्ती करणी तथा बाल यौन शोषणको अभियोगमा मुद्दा चलाइएको छ ।
बुधबार राति स्थलमार्गबाट सर्लाही लगिएका बम्जनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले सरकारी वकिलको कार्यालयमा बयान गराएको थियो ।
पीडित युवती बम्जनको सिन्धुपाल्चोकस्थित आश्रममा आनीका रूपमा बसेकी थिइन् । त्यहीँ २० साउन २०७३ मा आफूलाई बम्जनले बलात्कार गरेको उनले बताएकी थिइन् ।
त्यही आधारमा बम्जनविरुद्ध प्रहरीले अनुसन्धान सकेर सर्लाही अदालतमा मुद्दा दायर गरेको थियो । सोही मुद्दामा अब उनले जेलभित्रैबाट प्रतिवाद गर्न पाउनेछन् ।
मंगलबार साँझ काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ स्थित निवासबाट सिआइबीको टोलीले बम्जनलाई पक्राउ गरेको थियो ।
बम्जनविरुद्ध दर्ता रहेको मुद्दामा जिल्ला अदालत सर्लाहीले २१ असार ०७७ मा पक्राउ पुर्जी जारी गरेको थियो ।
Comments