बम्जनलाई सर्लाही जिल्ला अदालतमा पेश गरिदै , आजैदेखि बहस सुरु हुने
काठमाडौँबाट पक्राउ परेका ‘तपस्वी’ भनिने रामबहादुर बम्जनलाई प्रहरीले आज सर्लाही जिल्ला अदालतमा पेस गर्दैछ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बम्जनलाई सडक मार्ग हुँदै गएराति मलंगवास्थित सर्लाही जिल्ला प्रहरी कार्यालय पु¥याएको छ ।
हवाई मार्गबाट लैजाने तयारी भएपनि जनकपुरको मौसम खराब भएपछि उनलाई गाडीमा राखेर प्रहरीले मध्यरात सर्लाही पु¥याएको हो । बम्जनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीको हिरासतमा राखिएको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रवीण धितालले जानकारी दिए ।
एसपी धितालका अनुसार बम्जनलाई अन्य थुनुवासँगै राखिएको छ । उनकालागि प्रहरीले विशेष सुविधा उपलब्ध गराएको छैन । बम्जनविरुद्ध बलात्कारसम्बन्धी एउटा मुद्दा सर्लाही जिल्ला अदालतमा विचाराधिन रहेकाले उनलाई सर्लाही लगिएको हो ।
बम्जनविरुद्धको मुद्दामा पक्ष विपक्षका वकिलहरुले अदालतमा आजै बहस गर्ने बताइएको छ । प्रहरीका अनुसार सम्भवत निर्णय पनि आजै आउँन सक्छ, बहस लम्बियो भने निर्णय आउन एक दुई दिन लाग्ने छ ।
बाराको निजगढ नगरपालिका रतनपुरी स्थायी घर भएका बम्जनविरुद्ध सर्लाही जिल्ला अदालतबाट २०७६ माघ २३ गते पक्राउ पुर्जी जारी भएको थियो । त्यसयता उनी लुक्दै आएका थिए ।
Comments